तुलसा बस्नेत, पालुङ, २7 असार/ जैविक विविधता र पर्यावरणमा प्रतिकूल असर पार्ने पार्थेनिम झार नष्ट गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन । हेटौंडा र आसपासका क्षेत्रमा पार्थेनिम झार दुइ सालयता तीव्ररूपमा बृद्धि हुंदै गएको छ।
नगरको वातावरणीय क्षेत्रमा काम गर्दै आएको वातावरणसंग संबन्धित संघसंस्थाले अन्य क्षेत्रमा काम गरेको भएपनि पार्थेनिम झार नियन्त्रणका बिषयमा कुनै काम नगरेको सर्वसाधारणले गुनासो गरेका छन् । नगरको वातावरण दिनप्रतिदिन जटिल बन्दैछ वातावरणको क्षेत्रमा काम गरेको भनि हजारौं रूपियां खर्चेर विभिन्न प्रकारका प्रस्ताव तयार पारिन्छ, तर महत्वपूर्ण मानिएको काम हुंदैनन् ।
सधैं वातावरण दिवसको अवसर पारी एकाध संस्थालाइ पुरस्कृत गर्नु र दिवसको सेरोफेरोमा कार्यक्रमहरू गरेजस्तो मात्र गर्नु सरोकारवाला संस्थाको नियमित कार्य भएको छ । हाल हेटौंडा नगरमा पार्थेनिम झार व्यापक बन्दै गएको छ । सजिलैसंग एकठाउँबाट अर्को ठाउँमा सर्ने यो झारको परागकणले छालामा एलर्जी, स्वासप्रश्वासलगायतका रोग लाग्ने त्रिविका वनस्पति शास्त्र केन्द्रीय विभाग विशेषज्ञ देवेन्द्र कार्कीले बताउंछन् ।
सामान्यतया कनिके, वेथु, पुड्के फूल, पाती, बहुदल फुललगायतको नामले चिनिने पार्थेनिम झारको असर छालामा पर्दा चिलाउने, रातो डाबर उठ्ने, सुन्निएर फोका पर्नेलगायतका समस्या हुने कार्की बताउंछन् । यो झारले रैथाने झारलाइ पनि बिस्थापित गराउंदैछ भने अन्नबालिको बीज अंकुरणमा रोकावट ल्याउंने कार्कीले बताए । यो जातको झारको एउटै बोटमा ३ हजार ९ सयसम्म वीज उत्पादन गर्नसक्ने र परागकणमार्फत हावाको माध्यमले धेरै ठाउंमा फैलने बनश्पतिविज्ञहरू बताउंछन् ।
अंकुरण क्षमता ८० प्रतिशतसम्म हुने पार्थेनिम झार बृद्धि हुंदै जांदा वातावरणमा अक्सिजनमा समेत कमि ल्याउने उनीहरूको दावी छ । माटोमुनि पुरिए पनि कयौं वर्षपछि अंकुरण हुनसक्ने यो जातका झारको जैविक शत्रु भनेको जाइग्रोगामा बाइकोलोराटा -पात खाने कीरा) र एपिब्लेमा स्ट्रेनअना -डांठ कमजोर पार्ने कीरा) वातावरणमा अभाव रहेको विशेषज्ञ कार्की बताउंछन्। हेटौंडा नगरपालिका टोल विकास समन्वय समिति, वातावरण सुधार समन्वय समिति र शहरी तथा वातावरणीय सुधार परियोजनाले पार्थेनिम नियन्त्रणका लागि कुनै बजेट नछुटयाइएको वातावरण सुधार समन्वय समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले बताए । खेतबारीमा पनि अहिले पार्थेनिम झारले अन्नबालीको उत्पादकत्वमा कमी भइरहेको उहांले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment