बन्द वीचिकालीको ९ सय विघा जमिन अतिक्रमण

Posted on
  • Jul 9, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २५ असार/ बन्द रहेको वीरगंज चिनी कारखाना लिमिटेडको करिब नौं सय विघा जमिन अतिक्रमण गरी विभिन्न व्यक्तिहरूले भोगचलन गरिरहेका छन् ।
    बारा जिल्ला, सिमरा, डुमरवाना गाविसमा रहेको वीरगंज चिनी कारखानाको ऊखु फारम कारखाना चलुन्जेलसम्म कारखानाले नै ऊखु खेती गर्दै आएको थियो भने वीचिकाली बन्द भएपछि स्थानीय बासिन्दाले सो जग्गा कब्जा गरी धान, गहंु, मकै, तोरीलगायतको खेती गरिरहेका छन् ।
    सो जग्गामा ठूला-ठूला पक्की घरसमेत बनाएर मानिसहरू बसोबास गर्न सुरू गरिसकेको बताउंदै स्थानीय एक व्यक्तिले भन्यो- वीचिकालीको जग्गा कब्जा गरी खेती गर्नेहरूले सो जग्गा किनबेचसमेत गर्न थालिसकेका छन् । करोडौं रकम रहेको सो जग्गाको अतिक्रमण भइरहदा पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानु बिडम्बना रहेको कारखानामा कार्यरत पूर्वकर्मचारीहरूले बताए ।

    वातावरणविरोधी कार्य
    वीरगंज, २५ असार/ सिमरास्थित प्लाइउड उत्पादन गर्ने नेपाल बोडर्स लि.ले आफनो फैक्ट्रीबाट दैनिक निस्कने औद्योगिक फोहरहरू फैक्ट्री अगाडिको हाइवे वीरगंज-पथलैया सडकको दुवैपट्टकिो किनारामा थुपार्ने गरेका छन् ।
    नेपाल बोडर्स लि. उद्योगको कार्यकारी निर्देशक संविधानसभासद दिवाकर गोल्छाको फैक्ट्रीले वातावरण विरोधी काम गरेका हुन् ।
    निर्यातमुखी उद्योग नेपाल बोर्डस लि.ले फैक्टीमा दिनहुं उत्पादन हुने औद्योगिक फोहरहरू सडक विभागको कुनै इजाजत नलिई सर्वसाधारणलाइ प्रत्यक्ष मर्का पुर्याउने हिसाबले थुपार्दासमेत कसैले पनि विरोधको आवाज उठाएका छैनन । १ हजार ट्रकभन्दा बढी औद्योगिक फोहर फाल्ने उपयुक्त थलो सिमरा वरपरको हाइवे सडकको किनारालाई रोजेर नेपाल बोर्डस लि.ले वातावरणीय विरोधी काम गरेको छ । औद्योगिक फोहर फाल्न सो उद्योगले छुट्टै डम्पिङ साइट निर्माण गर्नुपर्नेमा सो नगरी सार्वजनिक स्थान हाइवेमा फोहर थुपारेर प्रदूषित बनाउने उद्योगलाई वातावरणीय ऐन नियमअन्तर्गत सम्बन्धित निकायले कारबाही गर्नुपर्ने वातावरण संरक्षणमा सरोकार राख्ने व्यक्तिहरूले बताएका छन् ।
    यसरी फालिएको फोहरको कसिंगर हुरी बतास चलेका बखत हाइवे सडकमा चल्ने मोटरसाइकल, साइकलका चालकहरुको आंखामा परी दुर्घटनासमेत भएको उदारहण विगतका दिनले देखाइसकेको छ ।

    0 comments: