
वीरगंज, १४ माघ/ पूर्वी नेपालमा बर्डफलु रोग कुखुरामा देखा परेपछि नेपाल सरकारले बजेट छुट्टयाएर जिल्ला पशु सेवा कार्यालयहरूमार्फत जनचेतना कार्यक्रमको प्रारम्भ गरेको भए पनि हालसम्म कार्यक्रमहरु कागजमा मात्र सीमित छन्, कार्यान्वयन भएका छैनन्।
पशु विकास अधिकृत मटुकलाल चौधरी, डा. चेतनारायण खरेल मिलेर वर्डफलुको कार्यक्रम बजेटमा भ्रष्टाचार गर्ने योजना बनाइरहेको एक स्रोतले बताएको छ ।
अभिमुखीकरण गोष्ठीका लागि ५५ हजारको बजेट छुटयाएको छ। सो गोष्ठीमा पर्सा जिल्लाका ४० जना कृषकहरूको सहभागिता रहने छ । वर्डफलु रोग नियन्त्रण कार्यक्रमका लागि निकासा भएको बजेट औपचारिक कार्यक्रम गरेर भ्रष्टाचार गर्ने योजना बनाइरहेको समाचार स्रोतको दाबी छ।
जिल्ला पशु सेवा कार्यालय पर्साले एभियन इन्फुलन्जा र्सर्भिलेन्स तथा इपिडेभियोलोजिकल अन्वेषण कार्यक्रम, ग्रामीण कुखुरा र पंक्षी बजार समेतमा नियमित र्सर्भिलेन्स गर्ने, व्यवसायिक कुखुराको नियमित र्सर्भिलेन्स गर्ने, ग्रामीण कुखुराबाट नियमित नमुना संकलन गर्ने, कुखुराको मासु बजारमा नियमित डिजिज र्सर्भिलेन्स गर्ने, फिल्ड भेटेरेनरी सेवा सुदृढीकरण कार्यक्रम संचालन गर्ने, जिल्ला तथा स्थानीय स्तरमा आरआरटि परिचालन, पोल्ट्री फार्म दर्ता तथा पोल्ट्री प्रोफाइल तयार गर्ने, डिएआइटिसी परिचालन गर्ने, वर्डफलुरोगको निगरानी, अनुगमन समन्वय तथा बोर्डर मिटिङ, कृषक, समिति सदस्य अभिमुखीकरण गोष्ठी गर्ने कार्यक्रम राखेको छ ।
जिल्ला पशु सेवा कार्यालय पर्साले वर्डफलु रोग नियन्त्रणका नाममा उपलब्ध बजेटबाट पोष्टर १ हजार र भोजपुरी तथा नेपाली भाषामा बर्डफलु रोगबारे अत्यन्तै जरूरी सूचना लेखिएको पर्चा एक हजार छपाएर वितरण गरी आफनो दायित्व पूरा भएको ठानेको छ ।
दिनहुं भारतको रक्सौलबाट भारतीय कुखुराको सेतो अण्डा, कुखुराको चल्ला, मासु खाने विभिन्न जातको कुखुरा निर्वाधरूपमा आयात, बिक्री वितरण भइरहेको छ ।
सो कार्यउपर जिल्ला पशु सेवा कार्यालय, पशु क्वारेन्टाइन कार्यालय वीरगंजले कुनै निगरानी, चिन्ता, चासो राखेको पाइदैन। भंसार चेक प्वाइन्टमा खटिएका पशु सेवा कार्यालय र पशु क्वारेन्टाइनका कर्मचारीहरूले घुस लिएर सेतो अण्डा र कुखुरा रक्सौलबाट वीरगंजमा भित्रिने छुट दिएका छन् । विभिन्न चोरी नाकाबाट पनि प्रहरीको आंखा अगाडिबाट भारतीय अण्डा, चल्ला र कुखुरा भित्रिरहेका छन् । बर्डफलु रोग जस्तो गम्भीर र संवेदनशील विषयमा सम्बन्धित निकायले आफनो दायित्वबाट पन्छिएर ठूलो खेलवाड गरिरहेको छ ।
0 comments:
Post a Comment